Loading Now

बानपा १४ नारायणस्थानमा नेवारहरूकाे बसाँइसराइँकाे ऎतिहासिक पक्षकाे एक अध्ययन

ध्रुव श्रेष्ठ

-1024x768 बानपा १४ नारायणस्थानमा नेवारहरूकाे बसाँइसराइँकाे ऎतिहासिक पक्षकाे एक अध्ययन

बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका, वडा नं १४, नारायणस्थानमा नेवारहरुको बसोबास धेरै वर्ष पहिले देखि नै रहँदै आएको छ । एक अध्ययनले यहाँ नेवारहरुको बसोबास करीव २३२ वर्ष पहिले देखिनै रहँदै आएको प्रमाणित हुन्छ । यहाँ काजीमान, सुर्काली, अठभैया र ठूलाघरे भाइखलक जो प्रभुनारायण गंगादेवी कुल खलक अन्तर्गतका हुन्, सबभन्दा पहिला आएका हुन् । उनीहरुको मुल बासस्थान उपल्ला हटिया हो । यसका साथै जिम्मालथर, धन्सार, कोल्पाटा, रातामाटामा पनि उनीहरुको बसोबास रहेको छ । यसका अलावा यहाँ नालामी (नालाबाट आएका)¸आँधिखोले (आँधीखोलाबाट आएका), कुस्मेली (कुस्मादेखि आएका) नेवारहरुको पनि बसोबास रहेको छ । यहाँ नेवारहरुको करीव १५० घरधुरी रहेको छ । पछिल्लो समय यहाँबाट बसाँइ सरेर फलेवास, कुस्मा, बाग्लुङ बजार, पोखरा, काठमाण्डौ, चितवन, तथा नवलपरासीको हरकट्टा लगायतका ठाउँमा जानेहरुको संख्या धेरै नै छ । यस लेखमा सबैभन्दा पहिला नारायणस्थानमा तत्कालिन भक्तपुरको बनेपादेखि बसाँइसराइँ गरी आउने प्रभुनारायण गंगादेवी कुल परीवारका सम्बन्धमा अध्ययन गरी प्राप्त भएका केही तथ्यहरु यहाँ पेश गर्ने जमर्काे गरेको छु ।

प्रभुनारायण गंगादेवी कूल वंशजहरु बाग्लुङ जिल्ला बलेवास्थित नारायणस्थान हटियामा कहिले देखि आई बसोबास शुरु गर्नुभयो भन्ने मिति एकिन रुपमा किटान गर्न नसके पनि विभिन्न आधारहरुले के देखाउँछ भने हाम्रो पूर्वजहरु आजभन्दा झण्डै २३२ वर्ष पहिले (वि.सं. १८५०) तिर यहाँ आइ बसेको हुनुपर्छ ।

  • प्रभुनारायण गंगादेवीका वंशजहरु काश्य गोत्रका हौं। आजसम्म हाम्रो कुल वंशज श्रेष्ठनै हुन् भन्ने आधारहरु पुष्टि हुन सकेको छैन । जसरी दार्जलिङ, सिक्किमतिर बसाइ सरी जाने सवै नेवारहरुले आफ्‌नो थर प्रधान राखे त्यसरी नै हाम्रो पूर्वजहरुले पनि श्रेष्ठ थर अंगालेको हुन सक्नुहुन्छ वा हाम्रा वंशजहरु वास्तवमै श्रेष्ठ नै पनि हुन सक्नुहुन्छ । यसको थप खोज अनुसन्धान हुन जरुरी छ ।
  • प्रभुनारायण गंगादेवी कुल खलक अन्तर्गत ४ भाइ खलक हुनुहुन्छ। यी चार भाइखलकमा काजीमान (जेठा), सुर्काली (माइला), अठभैया (साइला) र ठूलाघरे (कान्छा) भाइखलकका रुपमा मानिएको छ । कुलदेवताको मूर्ति जेठो भाइखलकमा रहने परम्परा अनुसार हालसम्म पनि जेठो भाइखलक काजीमान भाइखलकसंगै हाम्रा कुल देवता (प्रभुनारायण गंगादेवी) को मुर्ति रहेको छ । यही परम्परालाई नै आधार मान्दा बनेपा देखि बसाइसराइ गरी आउने भाइहरुमा जेठो भाइ खलकनै यहाँ आएको कुरा पुष्टि हुन्छ ।
  • प्रभुनारायण गंगादेवी कुल खलकको नारायणस्थानमा पाइएको सबभन्दा पुरानो र हालसम्म पनि रहेको अभिलेख भनेको साविक नारायणस्थान गाविस वडा नं. ५ स्थित रातामाटामा रहेको शिलालेख हो। त्यहाँ अहिले पनि हाम्रा पूर्वजहरुले निर्माण गरेको चौतारी र पोखरी यथावत् छ । त्यही चौतारी र पोखरीसंगै रहेको शिलालेखमा वि.स. १९३५ साके सम्वत् १८०० मा देविराजे महाजनबाट सो चौतारी र पोखरी निर्माण भएको कुरा उल्लेख छ । ठूलाघरे भाइखलकका श्री हरीप्रसाद श्रेष्ठका अनुसार त्यो पोखरीमा पानी लिन वहाँको अजीहरु जानुहुन्थ्यो रे । अझै पनि नागपंचमीमा नागको पुजा गरी यहाँ दुघ चढाउने प्रचलन छ । यो पोखरीमा नागको पुच्छर रहेको विश्वास छ । ठूलाघरे भाइखलकले नागपंचमीका दिन नागको पुजा गरीसके पछि ३ ठाउँमा दुध चढाउने गर्छन् । ठूलाघरे भाइखलकका हरीप्रसाद श्रेष्ठको घरसगै रहेको नागस्थानमा शिर, त्यसै गरी बाविसे खोलाको छेउमा गलैचाको बोटसंगै रहेको ठाउँमा मध्यभाग र रातामाटा पोखरीमा पुच्छर रहेको जनविश्वास छ ।
-768x1024 बानपा १४ नारायणस्थानमा नेवारहरूकाे बसाँइसराइँकाे ऎतिहासिक पक्षकाे एक अध्ययन

हाम्रा पूर्वज देवीराजे महाजनले राख्नुभएकाे शिलालेख ।

  • नारायणस्थान गाविस वडा नं. ५ रातामाटा स्थित शिलालेखमा देविराजे महाजन लेखिएकोले हाम्रो वंशज महर्जन पो हुन् कि भन्ने आशंका पनि उब्जन सक्छ । तर त्यहाँ उल्लेखित महाजन शब्द मर्हजन नभै महाजन नै हो। त्यत्तिवेला साहु, व्यापारीलाई महाजन भनिन्थ्यो । नेवारहरुको पेशा नै व्यापार भएकाले पक्कै पनि त्यही अर्थमा महाजन लेखिएको हुनुपर्छ ।
  • हाम्रो वंशज हालको काभ्रेजिल्ला स्थित वनेपादेखि बसाइसराइ गरी आएको कुरा हामीले हाम्रा बुवा अजाहरुबाट सुनेका छौं। हाम्रा वुवा अजाहरुका अनुसार झण्डै ४०-५० वर्ष अगाडी बनेपादेखि हाम्रा आफन्तहरु हामीलाई खोज्दै नारायणस्थान आइ पुग्नु भएको र वहाँहरुले “हालसम्म त तपाईहरुको जग्गा हामीले जोगाइराखेका छौं अव तपाईहरु आफै आई सम्हाल्नुहोस्” भन्नुभएको तर वर्खाको समय भएको र त्यत्तिवेला बनेपा पुग्न पनि १५-२० दिन लाग्ने हुँदा पछि आउँछौं भनि वहाँ आफन्तलाई फर्काएको कुरा सुनिएको छ। तर पछि हिउँदमा बनेपा जाँदा आफन्तहरुको पहिचान हुन नसकेको र त्यत्तिकै फर्किको कुरा जानकारीमा आएको छ । त्यत्तिवेला गणेशमान श्रेष्ठले यस कामको नेतृत्व लिनु भएको थियो । हाल वहा हामी विच हुनुहुन्न र यो कुराको आधिकारीकता पनि यत्तिमै सिमित हुन पुगेको छ ।
  • बाग्लुङ बलेवा नारायणस्थानमा बसाइसराई गरी आउने हाम्रा पूर्वज भिमसेन नेवार हुनुहुन्थ्यो । वहाँले यहाँको जग्गा विर्ताका रुपमा पाउनुभएको कुरा वहाँसंग भएको कागजातहरुले पुष्टि गरेको छ । साथै वहासँग हामीहरुको वंशावली पनि रहेको कुरा थाहा हुन आएको हो। सो कुरा जिम्वाल लक्ष्मीनारायण श्रेष्ठ र ज्ञानप्रसाद श्रेष्ठ मार्फत जानकारीमा आएको हो। तर ती कागजातहरु आज भन्दा झण्डै ४०-४२ साल अगाडी नै आगलागीमा परी जलेर नष्ट भएको कुरा पनि वहाँहरुबाट प्राप्त भएको हो । आगलागीकाे कुरा मलाइ पनि थाहा छ । त्यत्तिवेला म ७–८ वर्षकाे भैसकेकाे थिंए । साे घर ठिक मेराे घर अगाडी थियाे ।
  • वि.सं. १८३८ सालमा कुश्माचौर हालको कुश्मामा महेश्वर नेवारले पर्वत राज्यका अन्तिम राजा कीर्तिवम मल्ललाई रु. १०१। चढाई सेवा गरे वापत उनलाई घरघडेरी दिई निकासा माफी गरिदिएको व्यहोरा परेको छ । यसको दुई वर्ष पछि वि.सं. १८४० मा कीर्तिबम मल्लले भादगाँउ (हालको भक्तपुर) का राजा रणजित् मल्लका छोरा अवधुतसिंहलाई बागलुङ बजारको उत्तरपट्टिको उपल्लाचौरमा घडेरी विर्ता दिई निकासा समेत माफी दिएका थिए । पर्वत राज्य वि.सं. १८४३ साल आश्विन १४ गते नेपाल राज्यमा गाभिएको थियो । कीर्तिबम मल्लले वि.सं. १८१९ देखि १८४३ सम्म पर्वत राज्यको शाशन सम्हालेका थिए । गोरखासंगको युद्दमा हार भएपछि उनी राज्य छाडी नवाव वजीरको राज्य वलीरामपुरमा शरण लिन पुगेका थिए। त्यही. उनको मृत्यु भयो । वि.सं. १८६७ मा मुक्तिराम नेवार थाकखोलाको दाना भन्सारमा राजश्व संकलक भएका थिए । कुश्माचौरका महेश्वर नेवार, दाना भंसारका मुक्तिराम नेवार र वलेवा नारायणस्थानका भिमसेन नेवारका बीच कस्तो सम्बन्ध थियो या कुनै सम्बन्ध थियो थिएन सो खोजको विषय हो । तर अहिले सम्म त्यस्तो सम्बन्ध देखा परेको छैन । त्यस सम्बन्धमा कुनै खोजतलास भएको पाइएको छैन ।
  • हालसम्म प्राप्त हाम्रो कुलखलकको वंशावली अनुसार देवीराज (श्रेष्ठ) महाजन देखि आजको मिति (२०८२ साल भाद्र १४ गतेसम्म गणना गर्दा) सम्म ८ औं पुस्ता हुन आउँछ । ठूलाघरे भाइखलकका पुजारी हरीप्रसाद श्रेष्ठका अनुसार पितृलाई तर्पण दिंदा पितृ हिरा (श्रेष्ठ) भनि उल्लेख गरीन्छ । देवीराज महाजन हिरा (श्रेष्ठ) को वुवा हुनुहुन्थ्यो
  • हाम्रो कुलखलक अन्तर्गत भाइभाइबीच जुठो सुत्केरो पर्दा ठूलाघरे र अन्य ३ भाइखलक (काजीमान, सुर्काली र अठभैया) बीच ३ दिन जुठो र सुतक बार्ने चलन छ । त्यसै गरी ठूलाघरे भाइखलक अन्तर्गत कै धन्सारे, कोल्पाटे र जिम्वालथर भाइखलकबीच आज भन्दा १० वर्ष अगाडि सम्म १३ दिन नै जुठो र सुतक बार्ने चलन थियो तर अहिले सो दिन घटाएर ६ दिन बनाइएको छ ।
  • नारायणस्थान रातामाटास्थित शिलालेख वि.सं. १९३५ मा निर्माण हुँदा देवीराज (श्रेष्ठ) महाजन कम्तीमा पनि ४०-४५ वर्षको हुनुपर्छ । वहाँ भन्दा कम्तीमा पनि ३ पुस्ता अगाडि हाम्रा पूर्वजहरु यहाँ आएको हुनुपर्छ किनकी देवीराज (श्रेष्ठ) महाजनको एउटा भाइखलकको हाँगो अहिले पनि ठूलाघरे भाइखलक भनेर नारायणस्थान वडा नं. ५ हटियामा नै बस्नुहुन्छ । ठूलाघरे भाइखलक अन्तर्गत नै धन्सारे, कोल्पाटे र जिम्वाल भाइखलक कहिले छुट्टिनु भो एकिन भएको छैन । देवीराज महाजन पछिको पुस्ता किटान भैसकेकाले सो भन्दा अगाडी नै वहाहरु छुट्टिइ सक्नु भएको थियो । झन् काजीमान, सुर्काली र अठभैया भाइखलक त त्यो भन्दा अगाडि नै छुट्टिनु भएको प्रष्ट छ तर कहिले भन्ने मात्र हो ।
  • सामान्यतया एक पुस्ता र अर्को पुस्ताविचको फरक २५ वर्षको मानिन्छ । हाम्रा इतिहासकारहरुले पनि एक पुस्ता र अर्को पुस्ताबीचको फरक २५ वर्ष वैज्ञानिक रुपमा ठिक रहेको भन्दै आफनो इतिहासमा यसरी नै पुस्ता छुट्टाउने गरेकाछन् । यस अंकलाई आधार मानी हेर्दा देवीराज महाजन (श्रेष्ठ) को जन्म वि.सं. १८९५ हुन आउँछ । वहाँको वुवाको जन्म वि.सं. १८७०, अजाको जन्म १८४५ र बुढो अजाको जन्म वि.सं. १८२० हुन आउँछ भने बुढो अजाको पनि वुवा संभावित भिमसेन नेवारको जन्म १७९५ हुन आउँछ । यदी वि.सं. १८५० तिर हाम्रा पूर्वजहरु यहाँ बसाइ सर्नुभएको हो भनि मान्ने हो भने संभावित भिमसेन नेवारको बसाइ सर्दाको उमेर ५५ हुन आउँछ, भने देवीराज (श्रेष्ठ) महाजनको बुढो अजाको पनि वुवाको उमेर ३० वर्षको हुन आउँछ ।
  • संभवत् हाम्रा पुर्वज भिमसेन नेवार आफना चार भाई छोरा काजीमान, सुर्काली, अठभैया र ठूलाघरे सहित आउनु भयो कि ? अथवा यी चार दाजुभाई भिमसेन नेवार (ठूलाघरे) कै सहोदर दाजुभाई थिए कि ? यो खोजको विषय हो। पक्कै पनि ठुलाघरे भिमसेन नेवारकै हाँगो हो किनकी वहाँको सम्पत्ति, वंशावली लगायत सबै ठुलाघरे (जिम्वाल चन्द्र श्रेष्ठ) संग हुनुले यो कुराको पुष्टि गर्दछ ।
  • भिमसेन नेवार पछिको संभावित वंशवृक्ष → वि.सं. २०७० असल श्रेष्ठ, → वि.सं. २०३२ ध्रुव श्रेष्ठ, → वि.सं. २००० हरीप्रसाद श्रेष्ठ, → वि.सं. १९७० रत्नमान श्रेष्ठ, → वि.सं. १९४५ अमर बहादुर श्रेष्ठ, → वि.सं. १९२० हिरा श्रेष्ठ, → वि.सं. १८९५ देविराज (श्रेष्ठ) महाजन, → वि.सं. १८७० देविराज (श्रेष्ठ) महाजनका बुवा एक भाई ठूलाघरे र संभावित दाजुभाइहरु धन्सारे, कोल्पाटे र जिम्वालथर, → वि.सं. १८४५ देविराज (श्रेष्ठ) महाजनका अजा भिमसेन नेवारका संभावित नाति (संभावित दाजुभाइहरु (ठूलाघरे, धन्सारे, कोल्पाटे र जिम्वालथर) → वि.सं. १८२० देविराज (श्रेष्ठ) महाजनका बुढा अजा, (भिमसेन नेवारका संभावित एक भाई छोरा वा संभावित दाजुभाइहरु काजीमान, अठभैया, सुर्काली, ठूलाघरे) → वि.सं. १७९५ भिमसेन नेवार (संभावित दाजुभाइहरु काजीमान, अठभैया, सुर्काली, ठूलाघरे वा वहाँका संभावित ४ भाई छोराहरु काजीमान, अठभैया, सुर्काली र ठूलाघरे देवीराज महाजनका बुढा अजा) । देवीराज (श्रेष्ठ) महाजन भन्दा अगाडीको वंशजको एकिन गर्नका लागि प्रर्याप्त आधार संकलन गर्न नसकिएकाले यो एउटा अनुमान मात्र हो ।
  • हाम्रा पुर्वजहरु किन वसाइसराइ गर्नुभयो भन्ने कारण एकिन हुन सकेको छैन । बुबाअजाहरुको भनाइ अनुसार नेवारहरुको चाडवाड धेरै हुने र ती चाडबाडलाई निरन्तरता दिन नसकेर वहाँहरु आफ्‌नो थातथलो छाडी आउनु भएको भनाइ सुनिएको हो। अर्को भनाइ के पनि छ भने गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको क्रममा नेपाल (हालको काठमाण्डौ, किर्तिपुर, भक्तपुर र पाटन) आफनो कब्जामा लिए पछि यहाका नेवारहरुमाथि ज्यादती गरेको र सो ज्यादती सहन नसकी यता भागि आएको कुरा पनि छ । तर हाम्रो पुर्वजहरु नेपाल (हालको काठमाण्डौ, किर्तिपुर, भक्तपुर र पाटन) बाट नभै बनेपाबाट आउनुभएको अगाडि नै चर्चा गरीयो । यदी पहिलो कारण सही हो भने पृथ्वीनारायण शाहले नेपाल आक्रमण पूर्व नै बनेपा धुलिखेल लगायत कब्जामा लिइ सकेका थिए । वि.सं. १८१८ मा मकवानपुर र १८१९ मा धुलिखेल लगायत बनेपा गोरखा राज्यमा गाभिएको थियो । यदी हाम्रा पूर्वजहरु पृथ्वीनारायण शाहको ज्यादती सहन नसकी भागेको हो भने वि.सं. १८१९ तिर नै यता बसाइसरेको हुनुपर्छ ।
  • वि.सं. १८१९ तिर बनेपादेखि बसाइसराइ गरेको हो भने कुन बाटो हुँदै बाग्लुङस्थित नारायणस्थान आइपुग्नु भयो भन्ने कुरा महत्वपूर्ण छ । । वि.सं. १८१९ तिर पर्वत राज्य (त्यत्तिवेला बाग्लुङ लगायतका क्षेत्रहरु पर्वत राज्य अन्तर्गत थियो) मा सीधा बनेपा वा काठमाण्डौदेखि आउनु संभव थिएन वा त्यो बाटो प्रचलनमा थिएन । यसका लागि बर्षों लागेको हुनु पर्छ । त्यत्तिवेला बलेवा नारायणस्थान सम्म आइपुग्न वनेपादेखि भादगाउँ, पाटन, किर्तिपुर, नुवाकोट, गोर्खा, लमजुङ, कास्की राज्य पार गर्दै पर्वत आउनु पर्थ्यो। पर्वत, कास्की र लमजुङ राज्यका बीच राम्रो सम्बन्ध भएता पनि गोरखासंग यी राज्यहरुको सम्बन्ध राम्रो थिएन। तसर्थ यो बाटो हुँदै हाम्रा पूर्वज यहाँ आउनु संभव नै थिएन । त्यत्तिवेलाको पूर्वबाट पश्चिम आउने मार्ग भनेको भनेको काठमाण्डौ, चन्दागिरी, चित्लाङ, भिमफेदी, हेटौडा, चितवन, बुटवल, मस्याम, प्रभास, तानसेन, रीडि, सेतीवेणी हुँदै आएको हुनुपर्छ । यसरी यहाँसम्म आइपुग्न महिनौ या वर्षो पनि लागेको हुनु पर्छ ।
  • नेवारी भाषामा “बने” को अर्थ “व्यापार” र “पा” को अर्थ “स्थान” भन्ने बुझिन्छ । यस मानेमा  “बनेपा ” काे अर्थ  “व्यापार गर्ने स्थल” भनि बुझिन्छ । हाम्रा पूर्वज व्यापारी नै हुनुपर्छ र व्यापारीक प्रयोजनकै लागि यहाँसम्म आइपुगेको हुनुपर्छ किनकी भारतको मुगल साम्राज्य र भोट (तिब्बत) संग व्यापार गर्ने पूर्वमा बनेपा पछिको अर्को प्रमुख मार्ग भनेको पश्चिममा सिंजा (जुम्ला) र मध्यमा बुटवल-पाल्पा (तानसेन) बेनी-थाक मार्ग थियो। यो मार्ग भारतबाट बुटवल-नुवाकोट-मोह्याक ( मस्याङ) पाल्पा-रीडि-आँधीखोला दोभान (मिर्मी) सेतीवेणी-रानीपानी-कुश्माचौर-वेणी (हालको म्याग्दीको बेनी शहर-पर्वत राज्यको सदरमुकाम) दाना-थाकखोला हुँदै शाक्यमठ (मुस्ताङ) र त्यहाँबाट भोट पस्ने चल्तीको बाटो थियो। पृथ्वीनारायण शाहको ज्यादती सहन नसकी बनेपादेखि भागेता पनि बाग्लुङ नारायणस्थानसम्म आउँदा त्यत्ति लामो बाटोको बीचमा पर्ने अन्य ठाउँहरुमा नबसी यहाँ आउनु भनेको बस्नकै लागि नभै व्यापार पनि गर्नका लागि हुनुपर्छ । नत्र भने वहाँदेखि बर्षों लगाएर यहाँ आउनुको आधार पुष्टि हुन सक्दैन ।
trade-route-1024x583 बानपा १४ नारायणस्थानमा नेवारहरूकाे बसाँइसराइँकाे ऎतिहासिक पक्षकाे एक अध्ययन
हाम्रा पूर्वजहरू बनेपादेखि बाग्लुङ आउन प्रयाेग गरेकाे संभावित बाटाे ।
  • यदी बुबाअजाहरुको भनाइ अनुसार नेवारहरुको चाडवाड धेरै हुने र ती चाडबाडलाई निरन्तरता दिन नसकेर वहाँहरु आफ्‌नो थातथलो छाडी आउनु भएको हो भनी मान्ने हो भने (जुन बसाइसराइको समय- वि.सं.१८५० मान्ने हो भने) त्यत्तिवेला पनि त्यही पुरानो बाटो नै आउनु भयो की अर्को बाटो कास्की पोखरा हुँदै आउनु भयो थाहा हुन सकेन । तर त्यत्तिवेला सम्म पनि कास्की, पोखराको बाटो प्रचलनमा आइसकेको थियो भन्ने कुरामा शंका छ । बरु, कार्कीनेटा, सेतीदोभान, पुतलीबजार, खस्यौलीको बाटो प्रचलनमा आइसकेको थियो ।

सन्दर्भ सामाग्रीहरु

१ ठूलाघरे भाइखलकका पुजारी श्री हरीप्रसाद श्रेष्ठसंगको कुराकानीका आधारमा ।

२ सिक्किमका नेवारहरू, बालगाेपाल श्रेष्ठ ।

३ हरकट्टा, नवलपरासीस्थित हरीनारायण श्रेष्ठका अजा तथा कुलमान श्रेष्ठका बुवा ।

४ किर्तिबम मल्लका केही अप्रकाशित अभिलेख, टेकबहादुर श्रेष्ठ, सिनास, भोल्युम ८ नंबर २, जुन १९८१

५ किर्तिबम मल्लका केही अप्रकाशित अभिलेख, टेकबहादुर श्रेष्ठ, सिनास, भोल्युम ८ नंबर २, जुन १९८१

६ किर्तिवम मल्लका केही अप्रकाशित अभिलेख, टेकबहादुर श्रेष्ठ, सिनास, भोल्युम ८ नंबर २, जुन १९८१

७ थाकखोला उपत्यका, नेपालको इतिहास, माइकल भिन्डिङ,

Share this content:

I am an avid Agripreneur working towards sustainable agronomy in Nepal. As the Manager at Shrestha Agri Farm House, I see overall farm operations from developing corporate strategy, portfolio management, developing business plan to project execution. My journey in leadership extends beyond the agribusiness realm. With a rich background as a Program Manager at SWAN for four years, I honed my strategic skills and learned to navigate the complexities of diverse projects. Additionally, I dedicated four years as an Education Consultant at UNICEF Nepal, contributing to initiatives that empower and educate children especially the girls. My digital journey is marked by proficiency in digital marketing, where I specialize in web designing, SEO, social media marketing, google ads, and data analytics. Having delved into the intricacies of online visibility, I understand the importance of a strong online presence. As an avid SEO learner, I constantly strive to stay ahead of the curve in the ever-evolving digital landscape.

Post Comment

You May Have Missed