Loading Now

जेन जी जनआन्दोलन – एक सचेत विद्राेह

genzprotest2 जेन जी जनआन्दोलन – एक सचेत विद्राेह

नेपालको राजनीतिक इतिहासमा २०२५ को सेप्टेम्बर एक निर्णायक मोड बन्यो। यस घटनाले नेपाललाइ अहिले एउटा निर्णायक मोडमा उभ्याएको छ। जेनजी पुस्ताले नेतृत्व गरेको जनआन्दोलनले दुई-तिहाइ बहुमतको सरकारलाई मात्र होइन, दशकौंदेखि जरा गाडेर बसेका दलहरू—नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीलाई नै खरानी बनायो। यो आन्दोलनले केवल सरकारलाई मात्र होइन, पुरानो राजनीतिक संस्कारलाई नै चुनौती दिएको छ। यो कुनै सामान्य आन्दोलन थिएन। यो एक पुस्तागत विद्रोह थियो जुन युवाहरुको साहस, स्पष्टता र डिजिटल चेतनाले भरिएको थियो।

नेपालको राजनीतिक परिदृश्यमा आएको यो भुइँचालो कुनै साधारण घटनाका रुपमा बुझ्नु एक भुल हुनेछ । यो त दशकौंदेखि सिंचित भएको आक्राेस, हताशा र व्यवस्थाप्रतिको अविश्वासको विस्फोट हो । केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले दिएको ‘राजनीतिक स्थिरता’, ‘भ्रष्टाचारमुक्त नेपाल’ र ‘विकासोन्मुख देश’ को खोक्रो आश्वासनले जनताको धैर्यताको बाँध भरीइसकेको थियो। कोटेश्वरको घटनाले त्यो आकोसमा थप घ्युउ थप्यो भने सरकारको २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय जनताले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको हनन माने र भौतिकरुपमै विरोधमा उत्रिए । सरकारले अत्याधिक बल प्रयाेग गर्यो । परिणाम, अहिले पुराना दलहरु खरानी भएकाछन् ।

यस लेखमा जनआन्दोलनको पृष्ठभूमि, यसलाइ कसले र कसरी फ्युलिङ गरे, जेनजीको नाममा भएको यो आन्दोलनमा को को सामेल देखिए, यसको उपलब्धी के रह्यो तथा राजनीतिक दलहरु अव यो खरानीबाट कसरी उठ्लान आदीका बारेमा विस्तृत छलफल गर्ने जमर्को गरेको छु ।

जनआन्दोलनको पृष्ठभूमि:

नेपालको आधुनिक राजनीतिक इतिहास, दुईवटा ठूला मोडबाट गुज्रिएको छ । पहिलो सन् १९९० को जनआन्दोलन (जनआन्दोलन–I) जहाँ जनताले निरंकुश राजतन्त्रको अन्त्य गरेर बहुदलीय प्रजातन्त्र ल्याए। दोस्राे, सन् २००६ को जनआन्दोलन (जनआन्दोलन–II) जसले राजतन्त्रको अन्त्य गर्यो र नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनायो । यी आन्दोलनहरूले स्वतन्त्रता, न्याय र समृद्धि को वाचा गरे। तर दशकौं बित्दा पनि जनताले जीवनस्तरमा खासै सुधार देखेनन्। बरु देशमा भ्रष्टाचार बढ्दै गयो । राजनीतिक शिर्ष नेतृत्वले शक्ति कब्जा गरे र राज्यका निकायलाइ  कमजोर बनाए । न त प्रहरी, न निर्वाचन आयोग, न सर्वोच्च अदालत स्वतन्त्र रहन सके । सार्वजनिक स्रोत–साधन व्यक्तिगत स्वार्थमा खर्च भए । यति सम्म की विभिन्न आयोगहरु जुन स्वतन्त्र हुनुपर्थ्यो, ती सबै राजनीतिक दलका भागवण्डामा परे र दलका व्यक्तिहरु पदासीन हुन पुगे ।

यही असफलताले नयाँ पुस्ता (Gen Z) को राजनीतिक विद्रोह को आधार तयार गर्‍यो। Gen Z आन्दोलन केवल एक अर्को आन्दोलन मात्र रहेन। यो तीन दशकका अपूर्ण वाचा र आफ्नो भविष्य खोसिएको युवाहरुको भावनाको विस्फोट थियो। यस Gen Z आन्दोलनको मुख्य माग भनेको जवाफदेही, पारदर्शी र करदातामुखी राज्यको माग हो । यो आन्दोलन राजनीतिक विद्रोह मात्र नभई पुस्तागत जागरण पनि हो।

यसलाइ कसले र कसरी फ्युलिङ गरे ?

१     लगातारको भ्रष्टाचार र राजनीतिक कब्जा
मन्त्री, कर्मचारी र ठेकेदारहरू संलग्न ठूला–ठूला भ्रष्टाचार प्रकरणले जनविश्वास गुम्यो। भूटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा काण्ड, पोखरा अन्तराष्ट्रिय एयरपोर्ट, इम्बोस्ड नबर छपाइ, लाइसेन्स वितरण लगायतमा भ्रष्टाचार यस्ता केही प्रतिनिधी उदाहरणहरु हुन् । यही भ्रष्टाचारबाट आर्जित अकुत रकमको दुरुपयोग गर्दै उच्च पदस्थ नेताका छोराछोरी महँगो गाडी, विदेश अध्ययन, ऐश्वर्यपूर्ण जीवनशैलीमा देखिन थाले । साधारण नागरिकले महसुस गर्न थाले कि कर तिर्ने जनताविशेषाधिकार उपभोग गर्ने शासक वर्ग बीच ठूलो खाडल छ।

२     आर्थिक समस्या र युवाको पलायन–
नेपालको अर्थतन्त्र प्रेषणमा (Remittance) निर्भर छ। देशमा अवसर नपाएर ठूलो संख्यामा Gen Z विदेशिन बाध्य भए । उनीहरुकाे विचारमा “हामी आफ्नै देशमा बस्न पाउँदैनौं, तर हाम्रा कर नेताहरूको विलासी जीवनमा खर्च हुन्छ”  भन्ने भावना फैलियो।

३     लोकतन्त्रको असफलता–
प्रजातन्त्र प्राप्ति पछिको तीन दशकपछि पनि देशमा शिक्षा, स्वास्थ्य, रोजगारी, आधारभूत पूर्वाधारको अवस्था कमजोर नै रह्यो। सरकारमा पटक–पटक परिवर्तन भई स्थिरता नआएपछि दीर्घकालीन योजना असम्भव भयो। लोकतन्त्रलाई जनताले “पार्टीतन्त्र (partyocracy)” जस्तो देख्न थाले—जहाँ दलहरू आफ्नै स्वार्थका लागि मात्रै थिए।

४     नयाँ पुस्ताको चेतना (Gen Z Factor)–
Gen Z डिजिटल प्लेटफर्ममार्फत विश्वसँग जोडिएको, सचेत जनशक्ति हो । र यो भ्रष्टाचारप्रति असहिष्णु छ । युवाले सरकारका हरेक कामको विरोध गर्न थाले । सामाजिक सन्जालमा नेताहरु ट्राेल हुन थाले । उनीहरुका विरुद्द विभिन्न अफवाह फैलाए । सरकारले सामाजिक सन्जालको दुरुपयोग भएको भनि Facebook, X/Twitter लगायतका २६ सामाजिक सन्जाल बन्द गर्ने निर्णय गर्यो । यसले युवामा असन्तुष्टि फैलाउन र तुरुन्तै युवालाई सडकमा उतार्न भूमिका खेल्यो । यस आन्दोलनमा नेता नभई सञ्जाल र साझा आवाज प्रमुख शक्ति बने।

५     करको दुरुपयोग आन्दोलनको चर्को विषय बन्यो ।
देशमा नेपोकिड्स अभियान नै चल्यो । आन्दोलन कर न्याय (Tax Justice) को नारामा केन्द्रित भयो। युवाहरूले भने: “हामीले तिरेको कर बाटो, विद्यालय, अस्पतालमा होइन, नेताका गाडी, विदेश यात्रा र भ्रष्टाचारमा खर्च हुन्छ।” यसले समाजका हरेक वर्गलाई छुन सक्यो—पेट्रोल कर, भ्याट, आयकर, भन्सार शुल्क—सबैलाई भ्रष्टाचारसँग जोडिएको देखियो।

यो आन्दोलन अरु आन्दोलन भन्दा किन र कसरी फरक थियो?

  • पुस्तागत विभाजन: Gen Z ले पुराना दल र विचारधारालाई खुला चुनौती दियो।
  • नेताविहीन तर शक्तिशाली: परम्परागत नेतामा निर्भर नभई आफ्नै सञ्जालमार्फत संगठित।
  • सुस्पष्ट माग: अघिल्ला आन्दोलनजस्तो दिशाविहिन नभई भ्रष्टाचार अन्त्य, करको न्यायसंगत उपयोग, रोजगारी र जवाफदेहिता मा याे आन्दोलन केन्द्रित रह्रयाे।
  • राजनीतिक परिणाम: पहिलोपटक आन्दोलनले प्रत्यक्ष रूपमा पुराना दललाई सत्ताबाट हटायो र नयाँ अन्तरिम सरकार ल्यायो जसको प्राथमिकता चुनाव र शक्तिशाली भ्रष्टाचारविरोधी निकाय गठन गर्नु हो ।

आन्दोलन कसरी निर्णायक मोडमा पुग्यो ?

नेपोकिड्स अभियान:
सामाजिक सञ्जालमा “नेपो किड” नामक एक ट्रेन्ड तीव्र गतिमा फैलियो जुन नेताहरुका छोराछोरीको विलासी जीवनशैली र भ्रष्टविरुद्ध लक्षित थियो । युवाहरुले नेताका छोराछोरीको विलासी कार, विदेशमा शिक्षा र महँगा बिदाहरू देखाउने तस्बिर र भिडियोहरू साझा गर्दै विदेशमा रोजगारीका लागि संघर्ष गरिरहेका सामान्य नागरिकहरूको अवस्थासँग तुलना गर्दै “जब तपाईं राजनीतिज्ञका छोराछोरीहरूलाई देख्नुहुन्छ, तब यस्तो लाग्छ कि करदाताको पैसाले उनीहरूको विलासी कार, विदेशमा शिक्षा र जीवनशैलीमा लगानी गरेको छ, जबकि सामान्य युवाहरू विदेशमा कडा परिश्रम गर्न बाध्य छन्।” भन्दै विरोध जनाए । यी पोस्टहरूले गहिरो भ्रष्टाचार र बढ्दो असमानताप्रतिको जनआक्रोशलाई प्रतिबिम्बित गरेका थिए । “नेपो किडहरूले इन्स्टाग्राम र टिकटकमा आफ्नो जीवनशैली देखाउँछन्, तर पैसा कहाँबाट आउँछ भनेर कहिल्यै बताउँदैनन्,” एक टिकटक प्रयोगकर्ताले व्यापक रूपमा साझा गरिएको भिडियोमा भन्छन् । रेडिटका छलफलहरूले यो अभियान सडकमा पनि उत्रने सम्भावना देखाउँछ। केही प्रयोगकर्ताहरूले जेनेरेसन जेड “ब्यूँझिरहेको” भन्दै बानेश्वर र देशका अन्य भागहरूमा विरोध प्रदर्शनको आह्वान गरेका थिए र अनलाइन अभियानहरूलाई भौतिक प्रदर्शनहरूले पछ्याउनुपर्ने बताएका थिए ।

कोटेश्वर दुर्घटना:
मन्त्री राईको गाडीले काेटेश्वरमा एक बालिकालाई ठक्कर दिएर फरार भएको घटनामा प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिले जनआक्रोशलाई थप चर्कायो। घटनास्थलको भिडियो हेर्दा मन्त्री सवार गाडीले जेब्रा क्रसमा बाटो पार गर्न लागेकी बालिकालाई ठक्कर दिन्छ, तर गाडी रोकिँदैन र सडकमा लडिरहेकी बालिकालाई छलेर अगाडि बढ्छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन स्थल सनराइज हलमै यसलाई ‘सामान्य घटना’ भने । मन्त्री रामबहादुर मगर तथा देशको प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति तथा चरम असंवेदनशीलताले शक्तिशालीहरु कानुनबाट उन्मुक्ति पाउने र सर्वसाधारण उपेक्षित हुने मानक बन्यो । ठूलाबडाले जे गरे पनि हुने जस्ताे देखिन गयो । यो घटना, दण्डहिनताको प्रतीक बन्यो। जनताको आक्राेसले सीमा नाघ्यो। यसले स्पष्ट संदेश दियो कि सरकार र उच्चवर्ग एउटै सिक्काका दुइ पाटा हुन्, र तिनीहरूले गरेको कुनै कुराको जवाफदेही छैन।

सामाजिक सञ्जालको प्रतिबन्ध – आवाज दबाउने प्रयास:
एकातिर नेपोकिड्स अभियान तीव्ररुपमा बढ्दै थियो भने अर्कोतिर सरकारले सामाजिक संजाल बन्द गर्ने भनिरहेकी थियो । यही विचमा सरकारको निर्णयले २६ सामाजिक सञ्जाल बन्द गरियो। जनताले यसलाई अभिव्यक्ति स्वतन्त्रताको हनन माने। जेनजीले पुराना दलहरूलाई सिस्टमको हिस्सा होइन, समस्याको जरा माने। अब सामाजिक सञ्जालमा मात्र बोलेर हुन्न, सडकमै आउनुपर्छ भन्ने आवाज चर्कँदै गयो । शनिबारका दिन मन्त्रीको गाडीले एक जना बालिकालाइ ठक्कर दिएर भागेपछि र प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति आएसगै एकाएक सोमबार बिहान ९ बजे नयाँ बानेश्वरमा भेला हुने सूचनाहरू सार्वजनिक हुन थाले । आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रदर्शनको अनुमति माग्दै निवेदन पर्यो। शान्तिपूर्ण आन्दोलनको सर्तमा स्वीकृति पनि आयो। लगत्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरूसहितको बैठक बस्यो। बैठकले प्रदर्शनमा न्यूनतम बल प्रयोग गर्ने निर्णय गर्यो। सामाजिक सन्जाल बन्द भएपनि जेनजीले VPN र वैकल्पिक माध्यम प्रयोग गर्दै विरोधको आव्हान गरे, जसले देशव्यापी आन्दोलनको रूप लियो र २७ घण्टामा नै आन्दोलन निर्णायक बन्यो ।

आन्दोलनमा को को हुन सक्छन् ?

आन्दोलनमा सबैभन्दा निर्णायक भूमिका त राजनीतिक दलको अकर्मण्यता नै हो । नेताहरुले सधैं स्थिरता र विकासको सपना बारम्बार दोहोराए, तर जनताले भ्रष्टाचार, बेरोजगारी, र असमानताको यथार्थ भोगिरहे। सामाजिक संजालमा युवाहरुको आक्राेस यसैको प्रतिबिम्ब थियो । यसका अलावा कर्मचारी, सर्वोच्च, प्रहरी, प्राधिकरण, सार्वजानिक संस्थान, आयोगहरु सबै सबै संरचनाहरु राजनीतिक दलका भर्तीकेन्द बने । दलहरूले स्थापना गरेका संवैधानिक संस्थाहरू (सिंहदरबार, प्रतिनिधि सभा, सर्वोच्च अदालत) माथि जनताले नै हमला गरेको यसकाे एउटा गम्भीर संकेत हो। यसले देखाउँछ कि जनताको नजरमा यी संस्थाहरू अब जनताको सेवा गर्ने केन्द्र होइनन्, तर भ्रष्ट शक्तिको गढ़ बनिसकेका छन्। देशमा भ्रष्टाचार मात्र होइन राजनीति पनि जताततै व्याप्त रह्यो । कुलिङ पिरीयड, कुलमान काण्ड, भूटानी शरणार्थी काण्ड, पोखरा अन्तराष्ट्रिय एयरपोर्ट काण्डले नेताहरुप्रति जनतामा वितृष्णा बढायो । सरकार नैतिक बलका आधारमा भन्दा पनि बहुमतको दंभ र अहंकारमा चलिरह्यो । जनताले निकास देखेनन् र यस सरकारलाइ सत्ताच्युत गर्नुको विकल्प बाहेक अरू देखेनन् । माओवादी, रास्वपा, राप्रपा, नेपाली काँग्रेसकै शेखर समुह पनि यस सरकारको विरुद्द मै थियो । उनीहरुको पनि नैतिक समर्थन जेनजी पुस्तालाइ रह्यो । कतिपय स्थानमा त राजनीतिक दलका कार्यकर्ता पनि तोडफोडमा देखिए । अहिले राजनीतिक दलले तीनलाइ धमाधम कारवाही गरीरहेछन् । आन्दोलन रोक्नमा नेपाली सेना अग्रसर नहुनु, भोलिपल्ट ससस्त्र बल तथा नेपाली सेना सुरक्षा बैठकको योजना अनुरुप नचल्नुमा कतै बाह्य शक्तिको हात त छैन भन्ने षडयन्त्रको सिद्दान्त अनुसार पनि कुरा आइरहेछ । तर वस्तुस्थितिलाइ मिहिनरुपले केलाउँदा बाह्य हस्तक्षेपभन्दा पनि आन्तरीक पक्ष नै बलियो देखिन्छ ।

आन्दोलनको उपलब्धी

आन्दोलन शुरु भएको २७ घण्टामा नै समाप्त भएको छ । आन्दोलनले वर्षैंदेखी जरा गाडेर बसेका एमाले, कांग्रेस, माओवादी केन्द्र जस्ता ठूला दलहरूलाई राजनीतिक रूपमा ‘खरानी’ भएको अवस्थामा पुराएकाछन् । जेनजी पुस्ताले पुराना नेतृत्वलाई एउटा अविश्वसनीय, भ्रष्ट र अप्रासंगिक व्यवस्थाको प्रतीकको रूपमा देखाउन सफल भएको छ। उनीहरूको माग सरल र स्पष्ट छ: “पुराना नेताहरूले तत्काल राजीनामा दिनुपर्छ।” उनीहरूले पुराना दललाई “सिस्टमका दोषी” ठानेर अस्वीकार गरिसकेका छन्। त्यसैले पुराना दलहरूले संगठन र नेतृत्वमा क्रान्तिकारी परिवर्तन नगरेसम्म, युवापुस्ताले पुनः उठ्न नै नदिने सम्भावना प्रबल छ। र जेन जेड पुस्ता, अहिलेको राजनीतिक चेतनामा सबैभन्दा ठूलो चुनौती बनेको छ।

के राजनीतिक दलहरु उनीहरुले भनेझै खरानी टक्टकाएर उठ्न संभव छ?

नेपालका पुराना दलहरू अहिले खरानीमा परिणत भएका छन् । तर, इतिहास साक्षी छ — राजनीतिक दल कहिल्यै पूर्णतया समाप्त हुँदैनन्, उनीहरू पुनः उठ्ने अवसर खोजिरहन्छन्। प्रश्न भनेको केवल यति हो — “के यो उठाइ जनता र युवापुस्ताको विश्वास जित्ने खालको हुने हो, वा पुरानै दोषपूर्ण ढाँचाको निरन्तरता हुने हो?”

उठ्न सम्भव हुने कारणहरू:
संस्थागत संरचना अझै बाँकी छ
—दलहरूको संगठन, कार्यकर्ता, र स्थानीय तहमा प्रभाव कायम छ। यी दलहरूसँग अझै देशभर फैलिएको कार्यकर्ता जालो, स्रोतसाधन र संगठनात्मक क्षमता छ। यो आधारलाई प्रयोग गर्दै, यदि साहसिक पुस्ता हस्तान्तरण र आत्मसुधार भयो भने, पुनर्जागरण सम्भव हुन सक्छ।

राजनीतिक स्मृति कमजोर हुने प्रवृत्ति—समयसँगै जनआक्रोश मन्द हुने सम्भावना रहन्छ।

आफैंलाई पुनर्संरचना गर्ने क्षमता:
पुराना दलहरूमा हजारौं कार्यकर्ता, बलियो संगठनात्मक संरचना, आर्थिक स्रोत र राजनीतिक अनुभव अझै छ। यदि उनीहरूले तत्काल नेतृत्व हस्तान्तरण गरेर युवा पुस्तालाई निर्णयको केन्द्रमा ल्याए भने, पुनरुत्थान असम्भव छैन। तर अहिलेसम्मका संकेतहरू त्यस्तो साहस देखाउँदैनन्।

असम्भव हुने कारणहरू:
जेनजीको स्पष्ट अस्वीकार
—यो पुस्ताले पुराना दलहरूलाई पुनः स्वीकार्ने सम्भावना न्यून छ। अहिलेको राजनीतिक चेतनामा सबैभन्दा ठूलो चुनौती भनेको जेन जेड पुस्ता हो। उनीहरूले पुराना दललाई “सिस्टमका दोषी” ठानेर अस्वीकार गरिसकेका छन्। त्यसैले पुराना दलहरूले संगठन र नेतृत्वमा क्रान्तिकारी परिवर्तन नगरेसम्म, युवापुस्ताले पुनः उठ्न नै नदिने सम्भावना प्रबल छ।

नेताहरूको अडान र अहंकार—राजीनामा दिनुको सट्टा पुनः सत्तामा फर्किने प्रयासले जनतामा वितृष्णा बढाउँछ। जनताको आस्थामा चोट पुगेको छ। भ्रष्टाचार र नातावाद सफा नगरी, पुराना दलहरूले पुनः जनता जित्ने सम्भावना क्षीण देखिन्छ।

सामाजिक सञ्जालको शक्ति—अब जनमत निर्माणको माध्यम पुराना मिडिया होइन, डिजिटल प्लेटफर्महरू हुन्। अब भ्रष्टाचार लुकाउन सकिने युग सकिएको छ।

नैतिक वैधता गुमेको — जनताले अब तिनको शब्द होइन, कर्म हेर्छन्। जेनजीको स्पष्ट अस्वीकार — पुराना अनुहारले नयाँ पुस्ताको मन जित्न सक्दैनन् । दशकौँदेखि “उही अनुहार, उही शैली” का कारण जनता दिक्क भइसकेका छन्। केवल शब्दको राजनीति होइन, वास्तविक परिवर्तनको कदम बिना दलहरूलाई पुनः उठ्न असम्भवजस्तै छ।

सम्भाव्य भविष्यका बाटोहरू

पुराना दलहरूको समाप्ति: यदि पुराना दलहरू हठपूर्वक पुरानै नेतृत्वमा अड्किरहे भने, उनीहरू खरानीमै गाडिनेछन्।

पुनर्संरचना र पुस्ता हस्तान्तरण:
पुराना दलहरूले यदि नेतृत्व नयाँ पुस्तालाई दिए, सफा छवि भएका व्यक्तिहरूलाई अघि सार्दै पारदर्शिता र जवाफदेहिताको अभ्यास सुरु गरे भने पुनः उभिन सक्ने सम्भावना छ।

नयाँ शक्तिको उदय:
यदि पुराना दलहरू हठपूर्वक पुरानै ढाँचामा अड्किए भने, जेन जेडको विद्रोह नयाँ राजनीतिक शक्तिको उदयमा परिणत हुनेछ। इतिहास साक्षी छ — पुराना संरचनालाई अस्वीकार गर्दा नयाँ दल वा आन्दोलनले शून्यता भर्न सक्छ।

निष्कर्ष

नेपालको राजनीति अहिले निर्णायक मोडमा पुगेको छ। पुराना दलहरू खरानी बनेर ढलेका छन्, तर पुनः उठ्ने इच्छा बोकेका छन्। तर त्यो उठाइ केवल “पुराना गल्तीहरूसहितको निरन्तरता” हो भने जनताले त्यसलाई अस्वीकार गर्नेछन्।

आजको प्रश्न यही हो — के यी दलहरूले साहसिक आत्मसुधार गरेर नयाँ पुस्ताको विश्वास जित्छन्, वा खरानीमै गाडिन्छन्? निर्णय त उनीहरूको हो, तर समयले भने स्पष्ट सन्देश दिइसकेको छ — अब नयाँ पुस्ता र नयाँ राजनीति अस्वीकार गर्ने विकल्प छैन।

यदि पुराना दलहरूले साहसिक आत्मसुधार र पुस्ता हस्तान्तरण गर्न सकेनन् भने, जेन जेड पुस्ता र जनताले उनीहरूलाई खरानीमै गाडिदिनेछन्। नेपालको राजनीति अब निर्णायक मोडमा पुगेको छ — जहाँ नयाँ पुस्ताको उभारलाई अस्वीकार गर्ने कुनै विकल्प छैन।

Share this content:

I am an avid Agripreneur working towards sustainable agronomy in Nepal. As the Manager at Shrestha Agri Farm House, I see overall farm operations from developing corporate strategy, portfolio management, developing business plan to project execution. My journey in leadership extends beyond the agribusiness realm. With a rich background as a Program Manager at SWAN for four years, I honed my strategic skills and learned to navigate the complexities of diverse projects. Additionally, I dedicated four years as an Education Consultant at UNICEF Nepal, contributing to initiatives that empower and educate children especially the girls. My digital journey is marked by proficiency in digital marketing, where I specialize in web designing, SEO, social media marketing, google ads, and data analytics. Having delved into the intricacies of online visibility, I understand the importance of a strong online presence. As an avid SEO learner, I constantly strive to stay ahead of the curve in the ever-evolving digital landscape.

Post Comment

You May Have Missed